नेपालमै कीर्तिमान! ३० मिर्गौला प्रत्यारोपण एक महिनामा

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो उपलब्धि जानकारी गराएका हुन्।
सीमित स्रोतसाधन र जनशक्तिमा एकै संस्थाले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गर्नु ठूलो उपलब्धि भएको डा. श्रेष्ठले बताए । उनका अनुसार, विश्वव्यापी रूपमा पनि एकै संस्थाले यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण गर्नु दुर्लभ घटना हो।
उनका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ। मिर्गौला प्रत्यारोपण गराउनेमध्ये उमेर १४ वर्षदेखि ७१ वर्षसम्म रहेको छ। १५५ जना २० देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
उनीहरूले भने, १५–१९ उमेर समूहमा ६ जना, २०–२९ मा ४७ जना, ३०–३९ मा ५८ जना, ४०–४९ मा ४५ जना, ५०–५९ मा २६ जना र ६०–६९ उमेर समूहमा ३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गराउनेमा १३६ जना पुरुष र ५० जना महिला छन् भने मिर्गौला दिनेमा १३० जना महिला र ५५ जना पुरुष रहेको डा. श्रेष्ठले जानकारी दिए। डा. श्रेष्ठका अनुसार स्थापना भएको १३ वर्षमा अहिलेसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।
उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। त्यसैगरी, यसै वर्ष केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
स्वास्थ्य मन्त्रालयको सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्यअनुसार, केन्द्रले दुई प्रदेशमा सेवा सुरु गरिसकेको र बाँकी प्रदेशमा छिट्टै सेवा विस्तार गर्ने तयारीमा रहेको डा. श्रेष्ठले बताए। तर, केन्द्रले सेवा विस्तार गर्न सरकारले समयमै जग्गा उपलब्ध नगराएकोमा असन्तुष्टि व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस