सुडानको दार्फुरमा हैजा महामारी, एक सातामा कम्तीमा ४० जनाको मृत्यु

सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामा मात्रै कम्तीमा ४० जनाको ज्यान गएको छ। डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, यो पछिल्ला केही वर्षयताकै सबैभन्दा गम्भीर हैजा प्रकोप हो।
एमएसएफले जनाए अनुसार युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनमै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन्।
गत वर्षदेखि साउन २७ सम्म देशभर हैजाका ९९ हजारभन्दा बढी शंकास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन्।
हैजा प्रदूषित खानेपानीमार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ। उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा पनि हुन्छ। यद्यपि, नुनपानीको घोल र औषधिको सहायताले यसलाई सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ।
तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवाको पहुँच गुमाएका छन्। यसले रोग फैलिन झन् सजिलो बनाएको एमएसएफको भनाइ छ।
उत्तरी दार्फुरको ताविला क्षेत्रमा करिब तीन लाख ८० हजार विस्थापित नागरिक अत्यन्तै कठिन अवस्थामा बसोबास गरिरहेका छन्।
त्यहाँ प्रत्येक व्यक्तिका लागि दैनिक पानीको उपलब्धता केवल तीन लिटर छ, जुन आपत्कालीन मापदण्ड अनुसार आवश्यक ७.५ लिटरको आधा मात्र हो।
शिविरभित्रका धेरै मानिसले फोहोर पानी पिउनु परेको छ, शौचालय सुविधा छैन, बालबालिकाहरू खुला स्थानमै दिसा गर्न बाध्य छन्। यस्तो अवस्थाले हैजा अझ तीव्र फैलिएको छ।
सुडान: विश्वमै सबैभन्दा बढी हैजा मृत्यु हुने देश
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पछिल्लो डेढ वर्षमा सुडान हैजाबाट सबैभन्दा धेरै मृत्यु भएको देश बनेको छ। त्यहाँको मृत्यु दर २.१ प्रतिशत छ, जुन विश्व औसतभन्दा करिब २.५ गुणा बढी हो।
खार्तुममा नियमित सेनाले नियन्त्रण कायम राखेपनि दार्फुर क्षेत्रमा पुनः भिडन्त चर्किएको छ। अर्धसैनिक बलहरूले एल–फाशर सहर कब्जा गर्ने प्रयास गरिरहेका छन्, जसले स्थिति अझ जटिल बनाएको छ।
एमएसएफले चेतावनी दिँदै भनेको छ कि, “अहिले हैजा केवल शिविरमै सीमित छैन, यो दार्फुरका विभिन्न स्थान हुँदै छिमेकी देश चाड र दक्षिण सुडानसम्म फैलिइरहेको छ।”
सुडानका लागि एमएसएफ प्रमुख तुना तुर्कमेनले भने, “यो केवल आपत्कालीन अवस्था मात्र होइन, महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको छ। युद्धबाट बचेका नागरिकहरू रोकथाम गर्न सकिने रोगले मर्नु अत्यन्त दुःखद हो।”
तपाईको प्रतिक्रिया दिनुहोस