नर्सलाई सरकारी बमोजिम पारिश्रमिक दिन सक्दैनौं - प्राइभेट मेडिकल कलेज एसोसिएसन

नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नर्सलाई दिन नसक्ने जनाएको छ।
एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै निजी कलेजहरूले सरकारी सरहको पारिश्रमिक र सेवा सुविधा दिन नसक्ने भन्दै चुनौती दिएकोहो।
एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीका अनुसार निजी मेडिकल तथा डेन्टल कलेजको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रुपमा फरक रहेको कारण समान पारिश्रमिक दिन सम्भव नहुने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक (३४,७३० रुपैयाँ) र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो।
यस निर्देशनपछि सेवा सुविधा नपाएको भन्दै कास्कीस्थित मणिपाल मेडिकल कलेजका नर्सहरूले आन्दोलन थालेका थिए। आन्दोलनपछि मन्त्रालयले पुनः पत्र पठाउँदै निजी कलेजमा पनि सरकारी बमोजिम पारिश्रमिक दिने निर्देश दिएको थियो। तर एसोसिएसनले आर्थिक रुपले सम्भावना नरहेको जनाउँदै पत्रमार्फत पारिश्रमिक बढाउन नसकिने जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस