Techie IT
२०८२ कार्तिक १६, आइतबार

सप्तरीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु, एक दर्जनभन्दा बढी संक्रमित


सांकेतिक

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा फैलिएको झाडापखालाका कारण एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ। सोही रोगका कारण टोलका एक दर्जनभन्दा बढी स्थानीय प्रभावित भएका छन्।

स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीव सदाको अघिल्लो बिहीबार मृत्यु भएको हो। तीन दिनदेखि निरन्तर पखाला लागेपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो। तर, चिकित्सकले अवस्था गम्भीर भएकाले बाहिर लैजान सिफारिस गरेका थिए। उपचारका लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै संजीवको मृत्यु भएको काका देवनन्दन सदाले बताए।

संजीवका बुवा बुचन, आमा पार्वतीदेवी, छोरी राघिनी र हजुरबुवा लक्ष्मण पनि पखालाबाट पीडित थिए। राजविराजबाट फर्किएपछि गाउँकै क्लिनिकबाट औषधि सेवन गरे पनि लक्षण नरोकेपछि स्वास्थ्य अवस्था झन् बिग्रिएको थियो।

देवनन्दनका अनुसार, ‘दाजुले पठाएको १० हजार र आफ्ना दुई मोबाइल बेचेर उपचारका लागि खर्च गरियो, बुवाको नागरिकता बन्धकी राखेर उठाएको पैसा पनि सकियो।’ आर्थिक अभावका कारण लक्ष्मणको उपचार गर्न नसकिँदा गत आइतबार उनको पनि मृत्यु भयो।

लक्ष्मणको किरिया सकेर नउठ्दै बुचनकी ४ वर्षीया छोरी राघिनीको पनि शुक्रबार मृत्यु भयो। परिवारमा बाँकी रहेकी ५ वर्षीया राधिका पनि झाडापखालाबाट पीडित छिन् तर आर्थिक अभावका कारण उनको उपचार हुन सकेको छैन।

बुचन परिवारसँगै टोलका अन्य बासिन्दा पनि बिरामी परेका छन्। शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी पत्नी लिलमादेवी, छोरीहरू गायत्री र सुगन्धा, ६० वर्षीय बौकु सदा लगायत एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाबाट प्रभावित भएको जनाइएको छ।

छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्रप्रसाद यादवका अनुसार झाडापखालाको घटनाबारे शुक्रबार राति मात्र फेसबुकमार्फत जानकारी पाएको बताएका छन् । “बिहानै टोली पठाएर सबै घरमा पुगेर औषधि वितरण गरेका छौं,” उनले भने, “टोलमा सरसफाइको अभाव र समयमा उपचारमा ढिलाइ नै प्रमुख कारण हो।” गाउँपालिकाले आइतबार विपद् व्यवस्थापन बैठक राखी जनचेतनामूलक कार्यक्रम अघि बढाउने तयारी गरेको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बिरामीलाई ‘रेफर’ गरिएको विषयबारे आफूलाई जानकारी नभएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट