Techie IT
२०८२ कार्तिक २७, बिहीबार

वीर अस्पतालमा एकैपटक १० प्रकारका श्वासप्रश्वाससम्बन्धी भाइरस परीक्षण सुरु


वीर अस्पतालले श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगका भाइरसको एकैपटक परीक्षण सुरु गरेको छ।

अस्पतालको मेडिकल जेनेटिक्स (अनुवांशिक) प्रयोगशालामा उक्त परीक्षण प्रक्रिया सुरु गरिएको अस्पतालका मेडिकल अनुवांशिक विभागकी प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्।

उनका अनुसार बिरामीमा श्वासप्रश्वाससम्बन्धी विभिन्न रोग पहिचान गर्न अब फरक–फरक परीक्षण गर्नुपर्ने आवश्यकता हटेको छ। ‘पहिले ती १० प्रकारका भाइरसको फरक–फरक समयमा परीक्षण गर्नुपर्थ्यो,’ डा. ठाकुरले भनिन्, ‘तर अहिले एकैपटक परीक्षण गर्दा खर्च पनि कम पर्छ र कुन भाइरसका कारण कुन रोग लागेको हो भन्ने कुरा तुरुन्तै पत्ता लाग्छ।’

डा. ठाकुरका अनुसार परीक्षणपछि रोगको पहिचान भएलगत्तै अस्पतालमै उपचार प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी ६ प्रकारका भाइरसको पनि एकैपटक परीक्षण सुरु गरिएको छ।

हाल फोक्सोबाहेक शरीरका अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण यसै प्रयोगशालामा भइरहेको छ। वि.सं. २०७३ मा अनुवांशिक रोगको पहिचान र उपचारका उद्देश्यले स्थापना गरिएको यो प्रयोगशाला अहिले पनि जनशक्ति र उपकरणको अभावमा नियमित रूपमा सञ्चालन हुन नसकेको डा. ठाकुरले बताइन्।

‘यो नै सरकारी रूपमा अनुवांशिक रोग पत्ता लगाउने एकमात्र प्रयोगशाला हो,’ उनले भनिन्, ‘तर अहिले हामीसँग तीन जना मात्र जनशक्ति छन् र पर्याप्त उपकरण नहुँदा दैनिक परीक्षण गर्न सकिरहेका छैनौँ।’

हाल प्रयोगशालामा २५ प्रकारका अनुवांशिक रोगका भाइरसको नियमित परीक्षण भइरहेको र परीक्षण कार्य पालो प्रणालीमा हरेक दुई दिनमा गरिने डा. ठाकुरले बताइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट