बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुबाट ४१२ जनाको मृत्यु, एक लाखभन्दा बढी सङ्क्रमित
बङ्गलादेशमा सन् २०२५ यता डेङ्गु रोगको सङ्क्रमण गम्भीर बन्दै गएको छ। स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् भने ४१२ जनाको मृत्यु भएको छ।
महानिर्देशनालयका अनुसार डिसेम्बर महिनामा मात्रै आठ हजार १६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या नोभेम्बर महिनाको तुलनामा उल्लेखनीय रूपमा घटेको हो। नोभेम्बरमा २४ हजार ५३५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो, जुन डिसेम्बरको भन्दा झन्डै तीन गुणा बढी हो।
मृत्युको विवरणअनुसार डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको डेङ्गुका कारण ज्यान गएको थियो।
गत वर्ष सन् २०२४ मा बङ्गलादेशमा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो। त्यसअघि सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन पछिल्ला तीन वर्षयताकै सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो।
सामान्यतया बङ्गलादेशमा मनसुन मौसममा फैलिने डेङ्गु ज्वरो हाल जुन–सेप्टेम्बर अवधिभन्दा बाहिरसम्म पनि फैलिरहेको देखिएको छ, जसले स्वास्थ्य प्रणालीमा थप चुनौती सिर्जना गरेको छ।
डेङ्गु एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। यसका प्रमुख लक्षणमा तीव्र टाउको दुखाइ, उच्च ज्वरो, थकान, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता तथा छालामा डाबर देखिनु पर्दछन्।
डेङ्गुको बढ्दो जोखिमलाई नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्ने, लार्भा नष्ट गर्ने तथा जनचेतनामूलक अभियानहरूलाई थप कडाइका साथ अघि बढाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस