अत्यधिक चिसोमा अनावश्यक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिसोले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सतर्क रहन भनिएको छ।
मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम घट्दा शीतलहर, हुस्सु, कुहिरो र हिमपातका कारण रुघाखोकी, ज्वरो, दम, सास फेर्न गाह्रो, शीताङ्क (हाइपोथर्मिया) जस्ता समस्या बढ्ने गर्छन्। साथै, पछिल्ला वर्षमा वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगमा गम्भीर असर गर्दै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाएको मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “विशेष गरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले जाडोयाममा न्यानो रहन, धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त खाना खान, भिटामिन–सी पर्याप्त फलफूल (सुन्तला, कागती, अमला), मौसमअनुसारका ताजा फलफूल तथा सागसब्जी सेवन गर्न, सरसफाइमा ध्यान दिन र अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गर्दछौँ।”
चिसोका कारण स्वास्थ्य समस्या देखिए वा बढेमा जिल्ला नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
साथै मन्त्रालयले आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिएको छ। “राम्रो हावापास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा रंग र स्वादरहित विषाक्त कार्बन मोनोअक्साइड ग्यास जम्मा भई गम्भीर स्वास्थ्य समस्या वा ज्यान जोखिममा पर्न सक्छ। त्यसैले उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेला निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न अनुरोध गर्दछौँ। उपकरण प्रयोग गर्दा टाउको दुख्ने वा चक्कर लाग्ने लक्षण देखिएमा तुरुन्त हावा आवत–जावत गराउन वा खुला ठाउँमा जान र समस्या रहिरहे स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आवश्यक छ।”



तपाईको प्रतिक्रिया दिनुहोस