Techie IT
२०८२ माघ १९, सोमबार

भारतमा सर्पदंशको कहर: वर्षेनी ५० हजार मृत्यु, एन्टिभेनम अभाव


भारतमा सर्पदंशका कारण हरेक वर्ष करिब ५० हजार मानिसको मृत्यु हुने गरेको सङ्घीय सरकारको तथ्याङ्कले देखाएको छ। यो सङ्ख्या विश्वभर सर्पदंशबाट हुने कुल मृत्युमध्ये झण्डै आधा मानिन्छ। केही अध्ययनले सन् २००० देखि २०१९ सम्म भारतमा करिब १२ लाख मानिसको ज्यान गएको अनुमान गरेका छन्।

ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनअनुसार भारतका ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम प्रयोग गर्न कठिनाइ भोगिरहेका छन्। सर्वेक्षणमा खराब पूर्वाधार, औषधिको अभाव र पर्याप्त तालिम नहुनुलाई प्रमुख समस्या औँल्याइएको छ।

उपचारमा ढिलाइ हुँदा धेरै बिरामीको अङ्ग काट्नुपर्ने, शल्यक्रिया गर्नुपर्ने वा आजीवन अपाङ्गता भोग्नुपर्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले सर्पदंशलाई उच्च प्राथमिकता प्राप्त उपेक्षित उष्णकटिबन्धीय रोगका रूपमा घोषणा गरेको छ। विश्वभर हरेक वर्ष झन्डै ५४ लाख मानिस सर्पदंशको सिकार हुन्छन् भने यसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाखभन्दा बढी रहेको छ।

प्रतिवेदनले भारतको मध्य तथा पूर्वी क्षेत्रमा जोखिम बढी रहेको र किसान तथा गरिब आदिवासी समुदाय सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।

भारत सरकारले सन् २०२४ मा सर्पदंशबाट हुने मृत्युलाई सन् २०३० सम्म आधा घटाउने लक्ष्यसहित राष्ट्रिय कार्ययोजना सुरु गरे पनि यसको कार्यान्वयन असमान रहेको विज्ञहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट