Techie IT
२०८२ माघ २१, बुधबार

आज विश्व क्यान्सर दिवस मनाइदै : नेपालमा क्यान्सरका बिरामी बढ्दै


आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । क्यान्सरप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विविध चेतनामूलक कार्यक्रम आयोजना गरिन्छ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष विश्वभर लाखौँ मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। धूमपान, तमाखु सेवन र अस्वस्थ जीवनशैली यस रोगका प्रमुख कारण मानिन्छन्। आज नेपालसहित विश्वभर क्यान्सरबाट हुने मृत्यु घटाउने र जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदैछन्।

फेब्रुअरी ४ लाई क्यान्सरसँग जुधिरहेका व्यक्तिलाई हौसला दिने तथा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिनका रूपमा पनि लिइन्छ।

नेपालमा क्यान्सरका बिरामीको संख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। डब्ल्यूएचओका अनुसार नेपालमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ। पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सरको समस्या उच्च रहेको छ।

क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णका अनुसार नेपालमा हरेक वर्ष करिब २६ हजार नयाँ बिरामी थपिन्छन्। सन् २०२२ मा यो संख्या २२ हजार रहेको थियो। चार वर्षमै करिब चार हजार नयाँ बिरामी थपिएको उनले बताए।

रोग बढ्यो कि पहिचान ?

डा. कर्णका अनुसार क्यान्सरका बिरामी बढ्नुको कारण दुई पक्षबाट हेर्नुपर्छ। पहिले पनि क्यान्सर थियो तर पहिचानको दर कम थियो। परीक्षण र उपचार सेवाको पहुँच सीमित हुँदा धेरै बिरामी उपचारबाहिरै रहने अवस्था थियो। अहिले स्वास्थ्य सेवामा पहुँच विस्तार भएसँगै बढी बिरामी पहिचान हुन थालेका छन्।

तर अर्कोतर्फ पछिल्लो समय क्यान्सरको वास्तविक दर पनि बढ्दै गएको उनको भनाइ छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोगले क्यान्सरको जोखिम उल्लेख्य रूपमा बढाएको विभिन्न अध्ययनले देखाएका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार क्यान्सरको उपचारभन्दा रोकथाम सबैभन्दा प्रभावकारी उपाय हो। धूम्रपान तथा मद्यपान त्याग्ने, सन्तुलित र स्वस्थ आहार लिने, नियमित व्यायाम गर्ने, मोटोपन नियन्त्रणमा राख्ने, प्रदूषणबाट जोगिने तथा समयमै स्वास्थ्य परीक्षण गराउने बानीले क्यान्सरको जोखिम घटाउन सकिन्छ।

त्यस्तै, एचपिभी खोप, नियमित स्क्रिनिङ कार्यक्रम र व्यापक जनचेतनाले क्यान्सरका कारण हुने मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास छ।

नेपालमा क्यान्सर गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा उभिएको छ। तर समयमै सचेतना, प्रभावकारी नीति, रोकथामका कार्यक्रम र उपचार सेवाको पहुँच विस्तार गर्न सके यस चुनौतीलाई नियन्त्रणमा ल्याउन सकिने स्वास्थ्य विज्ञहरूको निष्कर्ष छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट