पाठेघरको मुखको क्यान्सर रोक्न एचपिभी खोप सुरक्षित छ - मन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सकिए उपचार गरेर पूर्ण रूपमा निको हुने बताएकी छन्।
आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान को भिडियो सन्देशमार्फत उनले अभियानको सफलताको शुभकामना दिँदै खोप सुरक्षित भएकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी हुन् ।
मन्त्री गौतमले ३० वर्षभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनुपर्नेमा पनि जोड दिइन्। उनले भनिन्, “पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरस हो। उक्त भाइरसविरुद्धको खोपले रोग रोकथाम गर्न सकिन्छ।”
नेपालमा पाठेघरको मुखको क्यान्सर निवारण गर्न गत वर्षदेखि एचपिभी खोप अभियान नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
सरकारले आजदेखि आगामी फागुन १५ सम्म देशव्यापी रूपमा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन सुरु गरेको छ। साथै, गत वर्षको अभियानमा छुटेका कक्षा ७–१० का किशोरी र ११–१४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइनेछ।
मन्त्री गौतमले खोप सुरक्षित र महिलाको जीवन बचाउने भएकाले सबैले लगाउनुपर्नेमा जोड दिइन्। उनले अभिभावकहरूले पनि आफ्ना बालिकालाई खोप लगाउन प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।
नेपालमा प्रत्येक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको एक अध्ययनले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस