आज विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा भेटिए ६७ हजार नयाँ बिरामी
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्ष मार्च २४ मा मनाइने यस दिवसको उद्देश्य क्षयरोग नियन्त्रणका लागि जनचेतना फैलाउनु हो। सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्षको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई जोड दिएको छ।
नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान, निदान र सचेतना अभिवृद्धि गर्न मन्त्रालयले स्थानीय तहहरूलाई विशेष आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठन का अनुसार सन् २०२४ मा नेपालमा मात्रै ६७ हजार नयाँ क्षयरोगी फेला परेका छन्। देशभर ६ हजार २४१ स्वास्थ्य संस्थामा उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क सञ्चालनमा छ।
मन्त्रालयका अनुसार औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। साथै, १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ।
यी लक्षण देखिए सचेत रहनुहोस्
- तीन हप्ताभन्दा बढी लगातार खोकी लाग्नु
- खकारमा रगत देखिनु
- सास फेर्न गाह्रो हुनु वा छाती दुख्नु
- अचानक तौल घट्नु
- अत्यधिक पसिना आउने र थकान महसुस हुनु लगायतका लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।
विशेषज्ञहरूका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू, धुमपान, मद्यपान वा लागुऔषध सेवन गर्नेहरूमा संक्रमणको जोखिम बढी हुन्छ। औषधि अधुरो सेवन गर्दा रोग पुनः बल्झिन सक्ने खतरा पनि रहन्छ।
नियमित औषधि सेवनबाट क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले समयमै परीक्षण र उपचारमा जोड दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। साथै, सचेतना अभिवृद्धि र सामूहिक प्रयासबाट मात्रै क्षयरोग नियन्त्रण सम्भव हुनेमा जोड दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस