निकोटिनको जालमा नयाँ पुस्ता, हरेक वर्ष ८० लाखको मृत्यु
आज (मे ३१) विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, यसको नियन्त्रण तथा भावी पुस्तालाई निकोटिनको लतबाट जोगाउने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थको महामारी र त्यसबाट हुने रोक्न सकिने मृत्यु तथा रोगप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरेका थिए। सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा ‘विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस’ मनाउन थालिएको हो।
डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकका नागरिक छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दो क्रममा रहे पनि विश्वका पाँचमध्ये एक वयस्क अझै यसको प्रयोगमा संलग्न छन्।
सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख जनाले आफूले धूमपान नगरे पनि निष्क्रिय धूमपानका कारण ज्यान गुमाउने गरेका छन्। यसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने व्यक्तिमात्र नभई वरपरका मानिससमेत गम्भीर स्वास्थ्य जोखिममा पर्ने तथ्य उजागर गरेको छ।
यस वर्षको दिवसमा डब्ल्युएचओले विशेषगरी बालबालिका, किशोरकिशोरी र युवालाई सुर्ती तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई आग्रह गरेको छ। सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् भने ई–सिगरेट र निकोटिन पाउचको प्रयोग युवामाझ तीव्र रूपमा बढिरहेको छ।
डब्ल्युएचओले सुर्ती तथा निकोटिन उद्योगहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सजिलो र छोड्न कठिन बनाउने रणनीति अपनाइरहेको जनाएको छ। विशेषगरी विभिन्न स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र नयाँ निकोटिनजन्य उत्पादनमार्फत किशोर तथा युवालाई लक्षित गरिएको बताइएको छ।
डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगका अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि उद्योगहरूले आफ्नो व्यापार विस्तारका लागि नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेका छन्।
डब्ल्युएचओले निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोरकिशोरीमा यसको असर गम्भीर हुन सक्ने चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ।
सङ्गठनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत निकोटिन पाउचको प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद र आधुनिक जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गरिएको प्रतिवेदनमा उल्लेख छ।
विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था वा प्रभावकारी नियमन नभएको डब्ल्युएचओको निष्कर्ष छ। नियमनको अभावका कारण यस्ता उत्पादनको प्रयोग तीव्र गतिमा बढिरहेको र यसले सार्वजनिक स्वास्थ्यमा नयाँ चुनौती सिर्जना गरिरहेको चेतावनी दिइएको छ।
डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन नियन्त्रण गर्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
सङ्गठनले सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्य गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिँदै स्वस्थ, सुरक्षित र धूमपानमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस