Techie IT
२०८३ श्रावण १३, बुधबार

आज देशभरका अस्पताल ठप्प, ओपीडी सेवा बन्द हुने


नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले दमन गरेको विरोधमा आज (बुधबार) देशभरका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। संघको यो निर्णयसँगै आज देशभरका सरकारी तथा निजी अस्पतालहरूमा ओपीडी (बहिङ्ग) लगायतका सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पताल तोडफोड भएको थियो। उक्त आक्रमणमा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो भने अन्य स्वास्थ्यकर्मीहरू समेत घाइते भएका थिए। घटनामा संलग्न दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ अनुसार कडा कारबाहीको माग गर्दै संघ आन्दोलनमा उत्रिएको हो।

माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल चलिरहेकै क्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको उपस्थितिमा पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकले प्रहरी परिचालन गरी चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघको आरोप छ। संघका केन्द्रीय कार्यकारिणी सदस्य र नारायणी शाखा अध्यक्षलगायतका चिकित्सकमाथि मन्त्रालय र प्रशासनकै रोहबरमा मानमर्दन गरिएको भन्दै संघले सीडीओ र एसपी दुवैमाथि कारबाहीको माग गरेको छ।

प्रशासनको उक्त कदमको घोर भत्सर्ना गर्दै संघले थप आन्दोलनका कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गर्ने जनाएको छ। सेवा ठप्प पार्दा बिरामी तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति संघले क्षमासमेत मागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट