मधुमेहले मुख र दाँतलाई कसरी बर्बाद पार्छ ? बेलैमा नचेते ठूलो फसाड
अनियन्त्रित मधुमेह (सुगर) ले शरीरका आन्तरिक अंगहरूलाई मात्र असर नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर संकट निम्त्याउने चिकित्सकहरूले औंल्याएका छन्।
रगतमा चिनीको मात्रा असन्तुलित हुँदा गिजाको गम्भीर संक्रमण (पेरिओडोन्टल डिजिज), मुख सुक्खा हुने समस्या तथा ढुसीको संक्रमण जस्ता जटिलताहरू उत्पन्न हुने गर्दछन्। मधुमेहका बिरामीमा सामान्य मानिसको तुलनामा गिजा पाक्ने, दाँत हल्लिने र अन्त्यमा दाँत नै झर्ने जोखिम निकै उच्च हुन्छ।
साथै, शरीरको घाउ निको हुने क्षमता कमजोर हुने भएकाले मुख तथा गिजाको उपचार प्रक्रियासमेत प्रभावित हुने चिकित्सकहरूको भनाइ छ। मुखको स्वास्थ्य र मधुमेहबीच गहिरो दोहोरो सम्बन्ध रहने भएकाले चिनीको मात्रा नियन्त्रण बाहिर जाँदा संक्रमण बढ्ने र संक्रमण बल्झिँदा सुगर नियन्त्रण गर्न थप कठिन हुने गर्दछ।
यसबाट बच्न बिरामीहरूले नियमित रूपमा ब्लड सुगर नियन्त्रणमा राख्ने, दिनको दुई पटक दाँत माझ्ने, फ्लस गर्ने, धुम्रपान पूर्ण रूपमा त्याग्ने तथा प्रत्येक ६ महिनामा दन्त चिकित्सकको परामर्श लिनुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।



तपाईको प्रतिक्रिया दिनुहोस