Techie IT
२०८२ माघ ११, आइतबार

समानुपातिक बन्दसूचीका यी तीन उम्मेदवारविरुद्ध उजुरी, आयोगले माग्यो स्पष्टीकरण


प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ९७ मा रहेका सिरहाका चन्द्रेश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट क्रम सङ्ख्या ६२ मा रहेका ललितपुरका जीवन लामा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ३७ मा रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाविरुद्ध उजुरी परेको हो।

समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले जारी गरेको विज्ञप्तिमा मण्डल आदिवासी समुदायका व्यक्ति भएकाले उनको नाम मधेसी समूहमा समावेश गर्न नमिल्ने भनी पिपरा गाउँपालिका–१, महोत्तरीका सन्तोषकुमार साहले उजुरी दर्ता गराएको उल्लेख छ।

त्यस्तै, ललितपुरका लामा अपाङ्गता नभएको भए पनि अपाङ्ग कोटामा राखिएको दाबी गर्दै तेमाल–२, काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले आयोगमा उजुरी दिएका छन्।

धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भन्दै पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगले सम्बन्धित पक्षलाई आफ्नो–आफ्नो सबुद प्रमाणसहित माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरेको छ।

निर्धारित समयमा उपस्थित नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट