कर्णालीमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकसहित प्रदेशको कुल मतदाता संख्या १० लाख ३७ हजार २५० पुगेको छ।
विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा नौ लाख आठ हजार ४३३ मतदाता रहेकामा यसपटक एक लाख २८ हजार ८१७ मतदाता थपिएका छन्। कुल मतदातामध्ये पाँच लाख २७ हजार ८८६ पुरुष र पाँच लाख नौ हजार ३६१ महिला मतदाता रहेका छन्।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेतमा रहेका छन्। सुर्खेतमा दुई लाख ४८ हजार ९४३ मतदाता छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता रहेका छन्। यसैगरी सल्यानमा एक लाख ६२ हजार ४४९, दैलेखमा एक लाख ६१ हजार २०४, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार ६६०, कालीकोटमा ८४ हजार ६४६, जुम्लामा ७१ हजार ७३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार ३७२ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन प्रयोजनका लागि कर्णाली प्रदेशभर ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्र तोकिएका छन्। मतदानस्थलको संख्या सुर्खेतमा सबैभन्दा बढी १४० रहेको छ भने दैलेखमा १३९, सल्यानमा ११७, कालीकोटमा १०३, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुम पश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदानस्थल निर्धारण गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको संख्या जिल्लाअनुसार फरक–फरक रहेको छ। सुर्खेतमा सबैभन्दा बढी ३०२ मतदान केन्द्र छन् भने हुम्लामा सबैभन्दा कम ६४ केन्द्र रहेका छन्। प्रदेश निर्वाचन कार्यालयले फागुनको निर्वाचनलाई लक्षित गर्दै तयारी कार्यलाई तीव्र बनाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस