Techie IT
२०८२ श्रावण १९, सोमबार

के चक्रे मिलन फेरि गुण्डागर्दीमा उत्रिएका हुन् ?

राजनीतिमा शक्ति बढाएका चक्रे मिलन २०७९ को निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस भएका थिए ।


विगतमा गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन अर्थात् मिलन गुरुङ र उनको टोलीलाई बिहीबार राति प्रहरीले पक्राउ गर्‍यो । विगतमा गुण्डागर्दीका कारण हिरासत पुग्नु चक्रे मिलनका लागि नौलो थिएन । तर, यसपटक भने उनको हिरासत यात्रा फरक छ ।

चक्रे मिलन र उनको टोलीले केही दिनदेखि जन्मदिन मनाइरहेको थियो । केही दिनअघि उनको टोलीले भक्तपुरमा फिल्मी शैलीमा सवारी गरेकाे थियो । तीनवटा गाडी लाइन लगाएर उनको टोलीले गरेको यात्राको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियो भाइरल बनेपछि प्रहरीले उनको टोलीमाथि निगरानी बढाएको थियो । बिहीबार बिहानदेखि अपरेसन सुरु गरेको प्रहरी टोलीले राति ११ बजे टोलीलाई नियन्त्रणमा लिन सफल भयो । चक्रे मिलनको टोलीले बिहीबार साँझ बाँसबारीको होटल साम्बालामा जन्मदिन मनाइरहेको थियो । विभिन्न सम्पर्क सूत्रमार्फत प्रहरीको टोली होटल साम्बाला पुग्दा चक्रे मिलनको टोली मस्तसँग जन्मदिन मनाइरहेको थियो । प्रहरीले सामान्य साेधपुछपछि खानतलासी सुरु गर्‍यो ।

खानतलासी गर्दा प्रहरीले चक्रे मिलनको टोलीको गाडीमा दुईवटा खुकुरी, रडलगायत हतियार बरामद गर्‍यो । प्रहरीले जन्मदिन मनाइरहेका चक्रे मिलनसहित ४७ जनालाई नियन्त्रणमा लियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको कार्यालयमा राखिएको छ । उनीहरूलाई कुन मुद्दा चलाउने भन्नेबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा छलफल जारी छ । उनीहरूलाई अदालतमा उपस्थित गराइएकाे र म्याद थपसँगै अनुसन्धान सुरु हुने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

को हुन् चक्रे मिलन ?

चक्रे मिलनबारे थाहा पाउन दुई दशकपछाडि फर्किनुपर्छ । लाहुरे सैनिकका छोरा उनी चक्रपथमा बस्थे । त्यतिबेला दीपक मनाङे भनिने राजीव गुरुङले ठमेल क्षेत्रमा प्रभाव जमाइरहेका थिए । त्यतिबेला चक्रे मिलनले चक्रपथ क्षेत्रमा ‘ग्याङ’ बनाएर हिँड्न थालेका थिए ।

महाराजगञ्जमा राजपरिवारलाई समेत प्रभावमा पारेका चक्रे मिलनले ठेक्कापट्टामा हस्तक्षेप बढाउन थाले । उनी २०४६ पछि एमालेको राजनीतिमा लागे । त्यसपछि राजनीतिक आडमा आफ्नो समूहलाई सक्रिय बनाउन थाले । एमाले नेता प्रदीप नेपालको घरका सदस्यजस्तै बनेका उनले चक्रपथसँगै चाबहिल र गोंगबु क्षेत्र कब्जामा लिएका थिए ।

राजनीतिमा शक्ति बढाएका चक्रे मिलन २०७९ को निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस भएका थिए । २०६०-६१ मा उनको र मनाङे समूहको दुस्मनी बढेको थियो । गुण्डागर्दीकै क्रममा क्षेत्र कब्जाको विषयमा ग्याङ फाइट हुँदा मनाङेले महाराजगञ्जको एक होटलमा खुकुरीले चक्रे मिलनको हात काटिदिएका थिए । उपचारपछि उनको हात ठीक भयो । यही मुद्दाका कारण दीपक मनाङेले अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

उक्त घटनापछि भूमिगत भएका चक्रे मिलन बेला-बेलामा राजनीतितिर देखिने र हराउने गरेका थिए । पछिल्लो समय उनी गुमनामजस्तै थिए । तर, फेरि गुण्डागर्दीको शैलीमा प्रस्तुत भएका उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । गुण्डा नाइके हुँदै राजनीतितिर मोडिएका चक्रे मिलन फेरि गुण्डागर्दीमा उत्रिएका हुन् वा होइनन् भन्ने विषय भने प्रहरीको अनुसन्धानपछि खुल्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट