इटाली र युएई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने, सल्यान बागचौर नगरपालिका–९ का ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बस्ने, दैलेख नौमुले गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन्।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो।
उजुरी अनुसार, रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जनाबाट १९ लाख ८५ हजार रुपैयाँ लिएका थिए भने खगेन्द्रले युएई पठाइदिन्छु भनी २ जनाबाट ६ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए।
पक्राउपछि रमेशराजलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं लगिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस