पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : राजनीतिक निकास नआए सुरक्षा चुनौती बढ्छ

पूर्व सुरक्षा उच्च अधिकारीहरूले विद्यमान अन्योल लामो समयसम्म कायम रहे मुलुक गम्भीर सुरक्षा संकटतर्फ धकेलिने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यथाशीघ्र समस्याको समाधान गरी राजनीतिक निकास दिन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै ६ जना पूर्व सुरक्षा प्रमुखहरूले पछिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाइहरूलाई सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व अतिरिक्त महानिरीक्षक विनोद सिंह, सहायक प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा, पूर्व अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्मा र सुरक्षा–न्याय अध्यक्ष परिषद् केन्द्रका पूर्व अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह रहेका छन्।
विज्ञप्तिमा भनिएको छ, “मुलुक तरल अवस्थामा पुगेको यस संवेदनशील घडीमा नागरिकको जीवन, धन र सार्वजनिक सम्पत्तिको सुरक्षा सबैको जिम्मेवारी हो। तर सरकारबिनाको अन्योल लामो समय रह्यो भने अवाञ्छित समूहलाई चलखेल गर्ने अवसर मिलेर सुरक्षा चुनौती थपिन सक्छ।”
आन्दोलन नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोग गर्ने सिद्धान्त, नागरिक जीवनरक्षा र मानवअधिकारलाई प्राथमिकतामा राख्दै संयमता अपनाउन सुरक्षाकर्मीलाई अपील गरिएको छ।
प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका करिब १३ हजार कैदीबन्दी कारागारबाट भाग्नु ठूलो सुरक्षा चुनौती भएको पूर्व सुरक्षा प्रमुखहरूको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, “प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका अपराधी समाजमा फर्किनुले नागरिकमा भय थपिएको छ।”
भदौ २३ र २४ गते जेनजी युवाहरूको आह्वानमा काठमाडौंसहित देशभर भएको प्रदर्शनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व प्रमुखहरूले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस