जेन–जी आन्दोलनको क्रममा फरार तीन कैदी पक्राउ

जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका तीन कैदीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–४ खोनपुरका ४२ वर्षीय हरिमान, जसलाई दर्नबहादुर क्षेत्री नामले पनि चिनिन्छ, उनलाई उनका घरबाट पक्राउ गरिएको हो।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका क्षेत्री आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी बाँकेको नौवस्ता कारागारबाट फरार भएका दुई कैदीबन्दीलाई आइतबार राति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त टोलीमार्फत पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–१ शान्तिपुर मिलनचोकस्थित सानो डाँफेबाट खटिएको बीओपीका सप्रनानी जोखबहादुर केसीको कमान्डमा ५ जना र प्रहरी चौकी जमुनीबाट खटिएको टोली प्रनानी ओमप्रकाश खत्रीको नेतृत्वमा ४ जना रहेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेका दुई कैदीबन्दी बाँके कोहलपुर नपा–२ का २८ वर्षीय ध्रुवसिंह ठकुरी र सुर्खेत वीरेन्द्रनगर नपा–४ का २१ वर्षीय रोहन बस्याल हुन्। ठकुरी चोरी, डकैती र लागुऔषधसम्बन्धी मुद्दाका अभियोगी हुन् भने बस्याल लागुऔषधसम्बन्धी मुद्दामा अभियुक्त छन्।
फरार अभियोगीहरू सीमावर्ती भारतीय नाका बलैगाउँ हुँदै देश बाहिर भाग्ने तयारीमा थिए। उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस