नक्कली शरणार्थी प्रकरण: ७ जनाले उन्मुक्ति पाउनेहरु कोको हुन् ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको हो।
जिल्ला अदालतले यस प्रकरणमा मुछिएका अन्य ७ जनालाई भने सफाइ दिएको छ। सफाइ पाउनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्। उनीहरू विरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो।
अदालतको फैसला अनुसार प्रतिवादीमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरिएको छ। त्यस्तै, पूर्वगृहसचिव पाण्डेलाई पनि ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमै दोषी ठहर गरिएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने यस प्रकरणमा मतियार (मत दिने वा सघाउने) ठहर गरिएको छ।
यसअघि २०८० जेठ १० गते सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण र पूर्वगृहसचिव पाण्डेसहित ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस