Techie IT
२०८३ वैशाख १५, मंगलबार

गैरी क्रिकेट स्टेडियम

बझाङको पहिलो क्रिकेट रंगशाला दुर्गाथलीमा शिलान्यास


बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा पहिलो क्रिकेट रंगशाला निर्माणका लागि शिलान्यास गरिएको छ। हिजो सोमबार पालिका अध्यक्ष दिलबहादुर थापा, उपाध्यक्ष जनकबहादुर दौल्याल र वडा अध्यक्ष वकिलबहादुर जप्रेलको उपस्थितिमा रंगशालाको शिलान्यास सम्पन्न गरिएको हो।

प्राकृतिक बनावटले क्रिकेट मैदान निर्माणका लागि उपयुक्त मानिएको दुर्गाथली वडा नं.५ को गैरीमा हाल गाउँपालिकाले आफ्नै स्काभेटर प्रयोग गरी मैदान सम्याउने काम थालेको छ। प्रारम्भिक काम गाउँपालिकाले नै गर्ने र आवश्यक बजेट व्यवस्थापनपछि रंगशालाको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने पालिका अध्यक्ष दिलबहादुर थापाले रैवारप्रेससँग बताएका छन् ।

रंगशालाको निर्माणका लागि आवश्यक जमिन स्थानीय १७ परिवारले स्वेच्छाले दान गरेका छन्। उनीहरूले आफ्ना नाममा रहेको निजी जग्गा जनचेतना युवा समाज जाफ्रीका नाममा हस्तान्तरण गरेका हुन्। रंगशालाको नाम ‘गैरी क्रिकेट स्टेडियम’ रहने स्थानीय देउपाल जप्रेलले जानकारी दिए।

क्रिकेट स्टेडियमको कुल क्षेत्रफल करिब ११,३१० वर्ग मिटर रहेको छ। स्थानीय बासिन्दाको स्वस्फूर्त जग्गा दान र युवाको सक्रिय सहभागिताले निर्माण हुन लागेको यो स्टेडियमले भविष्यमा बझाङका युवालाई क्रिकेट खेलमा प्रतिभा विकासका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास स्थानीय अगुवा त्रिदेव जप्रेलले व्यक्त गरेका छन् । निर्वाचनका बेला अध्यक्ष दिल बहादुर थापाले जाफ्रीमा क्रिकेट स्टेडियम बनाउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता अनुरुप नै स्थानीय जग्गादाता लायत अन्य वातावरण बनाउन केहि समयलागेपनि अब भने काम तिब्रगतिमा अगाडि बढाइने अध्यक्ष थापाले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट