Techie IT
२०८२ माघ ४, आइतबार

राजीनामा दिदै बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। मेयर शाहले आजै राजीनामा बुझाउने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

मेयर शाहले उपमेयर सुनिता डंगोललाई औपचारिक रूपमा राजीनामा बुझाउने छन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका शाह प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन्।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ। सोही निर्वाचनलाई लक्षित गर्दै मेयर शाहले पद त्याग गर्न लागेको बताइएको छ।

मेयर पदबाट राजीनामा दिएपछि शाह भोलि (सोमबार) पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय भएको छ। रास्वपाको मधेस प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला आयोजना गर्ने तयारी गरेको छ।

उक्त भेलामा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, साथै आठवटै जिल्लाका सभापतिहरूलाई सहभागी गराइने रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवले जानकारी दिए।

यादवका अनुसार सोही दिन शाह महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर (महोत्तरी निर्वाचन क्षेत्र–३) समेत जाने कार्यक्रम छ। हाल उक्त पुर्ख्यौली घरमा परिवार वा आफन्तहरूको बसोबास छैन र घरलाई एकडारा गाउँपालिकाले भाडामा लिएर प्रशासकीय भवनका रूपमा प्रयोग गरिरहेको छ।

यदि शाह पुर्ख्यौली क्षेत्रमा पुगेमा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने गरी सानो कार्यक्रमको तयारी भइरहेको पनि यादवले बताए। यसका अतिरिक्त जनकपुरमै आमसभा गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट