पोखरा महानगरले ७,५०० किलो धानको बीउ अनुदानमा वितरण गर्दै
पोखरा महानगरपालिकाले यस वर्ष किसानलाई ७ हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ।
महानगरको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार किसानबाट सङ्कलित मागका आधारमा ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागिएको हो।
उनका अनुसार महानगरभित्रका एक हजारभन्दा बढी किसानबाट करिब २१ हजार किलोग्राम धानको बीउ माग आएको भए पनि सोही अनुपातमा आपूर्ति गर्न नसकिएको छ। पोखरामा विशेषगरी ‘पोखरेली जेठो बुढो’ जातको धानको उच्च माग रहेको उनले बताए। वितरण गरिने बीउमध्ये करिब दुई हजार किलोग्राम ‘राम धान’ र बाँकी ‘पोखरेली जेठो बुढो’ समावेश हुने जानकारी दिइएको छ।
महानगरपालिकाले स्थानीय किसानबाट प्रतिकिलो २०० रुपैयाँमा धानको बीउ खरिद गरी ५० प्रतिशत अनुदानमा प्रतिकिलो १०० रुपैयाँमा किसानलाई उपलब्ध गराउँदै आएको छ। यसले बीउ उत्पादनमा किसानलाई प्रोत्साहन मिलेको शाखाको भनाइ छ।
हाल वडा नम्बर १३, २३, २६, २९ र ३० लगायत क्षेत्रमा किसानहरूले धानको बीउ उत्पादन गरिरहेका छन्। साथै, स्थानीय ‘अनदी’ र ‘पहेँले’ जस्ता जातको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित बीउ संकलन गरी किसानलाई वितरण गरिँदै आएको पनि महानगरले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस