आत्मदाह गरेका गणेशका परिवारलाई महानगरले रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षा दिने
काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीका परिवारलाई रोजगारी र उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ । महानगरपालिकाले पीडित परिवारलाई तत्काल मानवीय सहयोग, रोजगारी र सन्ततिलाई शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उपचारका क्रममा निधन भएका नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । महानगरले यो विषयलाई आगामी कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गराई तत्काल कार्यान्वयनमा लैजाने स्पष्ट पारेको छ ।
छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता
महानगरले नेपाल सरकारद्वारा गठन गरिने उच्चस्तरीय छानबिन समितिलाई पूर्ण रूपमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । छानबिनबाट प्राप्त हुने निष्कर्ष र सुझावका आधारमा आगामी दिनमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने महानगरको भनाइ छ ।
साथै, नेपाल सरकारसँगको समन्वय र सहकार्यमा आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक उपायहरू अवलम्बन गरिने महानगरले जनाएको छ । उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सबै पक्षलाई संयमित रहन र धैर्य धारण गर्न समेत महानगरपालिकाले विशेष आग्रह गरेको छ ।
प्रेस विज्ञप्ति -




तपाईको प्रतिक्रिया दिनुहोस