लुम्बिनी प्रदेशसभा बस्दै, चार सदस्यको राजीनामादेखि विवादित विधेयकसम्म छलफल हुने
लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा चारवटा मुख्य कार्यसूची तय गरिएको छ।
बैठकमा प्रदेशसभा सदस्यको पद रिक्तसम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सदनलाई गराउनेछन्। फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुअघि चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएका थिए।
२०७९ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट दाङ निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की र बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, साबिक नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी तथा रूपन्देही ४ (१) बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित कह्नैया बानियाले पदबाट राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ।
बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची पनि समावेश गरिएको छ। यस्तै, ‘जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा प्रस्तुत हुनेछ।
त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्नेछन्। सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि मुख्यमन्त्री आचार्यले दिने कार्यतालिका छ।
प्रदेशसभा सचिव पुन मगरका अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उक्त विधेयकमा प्रदेशसभा सदस्यलाई समेत तालिम दिने व्यवस्था गरिएको विषयमा आपत्ति जनाउँदै सम्बन्धित बुँदाहरू पुनर्विचार गर्न आग्रहसहित फिर्ता पठाएका हुन्।
लुम्बिनीका कर्मचारीलाई तालिम दिने उद्देश्यले ल्याइएको उक्त विधेयकमा प्रदेशसभा सदस्यलाई पनि तालिम दिने व्यवस्था राखिएकोप्रति प्रदेश प्रमुखले असहमति जनाएका छन्। साथै, थप दुई बुँदामाथि पनि छलफल गर्न सुझाव दिइएको सचिव पुनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस