लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकामा सभामुख तुलाराम घर्तिमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तिमगरले घोषणा गरेका हुन् । प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्नेगरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । यही जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका छन् ।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनका लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिएका थिए ।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम भएकाले आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइने बताए । उनले यस पटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधनस्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस