Techie IT
२०८३ असार २१, आइतबार

लालबन्दीमा सर्पदंशका बिरामीको चाप, गर्मी बढेसँगै बाहिरिए विषालु सर्प


सर्लाहीमा अत्यधिक गर्मी बढेसँगै सर्पको बिगबिगी सुरु भएको छ। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतका वर्षहरूका तुलनामा यस पटक सर्पदंशका घटनामा निकै वृद्धि भएको पाइएको हो।

केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार चालू महिना (असार) को तेस्रो हप्तासम्म मात्रै ३०५ जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा निकै बढी हो।

अहिले केन्द्रमा दैनिक तीनदेखि सात जनासम्म सर्पदंशका बिरामी आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए। "हुन त अन्य समयमा पनि फाट्टफुट्ट बिरामी आउँछन्, तर फागुनदेखि असोजसम्म सर्पदंशको उच्च जोखिम रहने गर्दछ," अध्यक्ष पौडेलले भने।

विज्ञहरूका अनुसार मुसाको दुलो र झाडीमा बस्न रुचाउने विषालु सर्पहरु गर्मी बढेसँगै शीतल खोज्दै बाहिर निस्कने गर्छन्। विशेष गरी रातको समयमा आहाराको खोजीमा निस्कँदा मानवीय चहलपहलका कारण असुरक्षित महसुस गरी सर्पले आत्मरक्षाका लागि मानिसलाई डस्ने गर्दछ।

उपचार केन्द्रका अनुसार यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता चल्दै गर्दा ९१ जनालाई सर्पले डसेको छ। डस्नेमध्ये अत्यधिक विषालु 'कमन करेत' को चपेटामा परेका ३ जनालाई थप उपचारका लागि जनकपुर रिफर गरिएको छ भने बाँकी बिरामी निको भएर फर्किएका छन्।

स्वास्थ्य सहायक यादवका अनुसार केन्द्रमा आउने कुल बिरामीमध्ये ५ देखि ७ प्रतिशतमा मात्रै विष फैलिएको पाइन्छ। त्यस्तै, १५ देखि २० प्रतिशत 'ड्राइ बाइट' (विष नछोडेको डसाइ) र ७३ देखि ८० प्रतिशत बिरामी विषरहित सर्पले डसेका वा शङ्का लागेर आउने गरेका छन्।

एकैपटक दुई जनासम्मलाई आपत्कालीन सेवा दिन सक्ने यस केन्द्रमा दुई जना एमबीबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र नेपाली सेनाको स्वास्थ्य समूहका दुई जना प्राविधिक कार्यरत छन्।

चिकित्सकहरूका अनुसार सर्पले डसेलगत्तै नआत्तिएर सर्पको पहिचान गर्ने र ढिला नगरी उपचार केन्द्र पुर्‍याउनु नै ज्यान जोगाउने एक मात्र उपाय हो। ग्रामीण भेगमा अझै पनि सर्पले डस्दा अस्पताल लैजानुको साटो झारफुक र तन्त्रमन्त्रको भर पर्दा बिरामीको ज्यान जाने गरेको भन्दै त्यस्तो अन्धविश्वासमा नलाग्न विज्ञहरूले कडा चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट