तमिल पावर स्टार एस. श्रीनिवासन ठगी अभियोगमा पक्राउ

तमिल फिल्म उद्योगका चर्चित अभिनेता तथा 'पावर स्टार'का नामले परिचित एस. श्रीनिवासन ठगी अभियोगमा पक्राउ परेका छन्। उनलाई आर्थिक अपराध अनुसन्धान शाखा (EOW) ले एक हजार करोड रुपैयाँ ऋण दिने बहानामा ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
श्रीनिवासनमाथि होटल परियोजनामा लगानीको नाममा मेसर्स ब्लू कोस्ट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड नामक कम्पनीलाई झूटो आश्वासन दिँदै ठगी गरेको गम्भीर आरोप लागेको छ। उनी सन् २०१८ देखि फरार थिए र दुईपटक अदालतबाट फरार घोषित भइसकेका थिए।
दिल्ली प्रहरीका अनुसार डिसेम्बर २०१० मा हेनरी लालरेमसांगा, दीपक बंगा, अनिल वार्शने र रामानुज मुव्वाल नामका सल्लाहकारहरूले उजुरीकर्ता कम्पनीलाई श्रीनिवासनसँग परिचय गराएका थिए। श्रीनिवासनले आफूलाई 'बाबा ट्रेडिङ कम्पनी' का सञ्चालक र १००० करोड रुपैयाँ ऋण उपलब्ध गराउने व्यक्ति भएको दाबी गरेका थिए।
सम्झौता अनुसार, उजुरीकर्ताले ५ करोड रुपैयाँको शुल्क समेत श्रीनिवासनलाई बुझाएका थिए। तर, ऋण नदिई उल्टै चेक बाउन्स गराएका थिए। अनुसन्धानका क्रममा ती सम्पूर्ण रकम श्रीनिवासन र उनकी श्रीमतीको खातामा पठाइएको पुष्टि भएको छ। ती मध्ये ५० लाख रुपैयाँ निकासा गरिएको थियो भने ४ करोड रुपैयाँको स्थायी निक्षेप (FD) बनाइएको पाइएको छ।
श्रीनिवासनले पैसाको उपयोगबारे कुनै स्पष्ट प्रमाण दिन नसकेको र रकम फिल्म निर्माण तथा व्यक्तिगत प्रयोजनमा खर्च गरेको खुलेको ईओडब्ल्यूले जनाएको छ। उनी चेन्नईमा यस्तै प्रकृतिका ६ वटा ठगी मुद्दामा पनि संलग्न रहेको प्रमाण फेला परेको छ।
पूर्वमा जमानत पाएका श्रीनिवासनले १५ दिनभित्र १० करोड फिर्ता गर्ने आश्वासन दिएका थिए। तर उनले जम्मा ३ लाख ५० हजार रुपैयाँ मात्र फिर्ता गरेका थिए र फेरि फरार भएका थिए।
यसपटक उनी पक्राउ परेपछि अनुसन्धान अधिकारीहरूले विस्तृत अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस