बाहुबली फिल्म सिरिज : १० वर्षपछि प्रभास र अनुष्का फेरि एकसाथ

बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो र प्रभावशाली चलचित्र सिरिज मानिन्छ। यसले भारतीय सिनेमाको समीकरण नै बदलिदियो र निर्देशक एस.एस. राजामौली तथा दक्षिण भारतीय फिल्म उद्योगका लागि वरदान सावित भयो।
अब यही सिरिजका मुख्य कलाकारहरू फेरि एकपटक एकजुट हुने भएका छन्। हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी पुनः सँगै देखिने भएका हुन्। आफ्ना मनपर्ने अनस्क्रिन जोडीलाई फेरि देख्न पाउँदा फ्यानहरू उत्साहित हुने पक्का छ। तर, यसमा एउटा ठूलो ट्विस्ट छ।
वास्तवमा उनीहरू कुनै नयाँ प्रोजेक्टमा काम गर्दै छैनन्, बरु एक विशेष अन्तर्वार्तामा सँगै देखिने भएका हुन्। रिपोर्टअनुसार, बाहुबली रिलिज भएको १० वर्ष पूरा भएको अवसरमा दुवैले उक्त अन्तर्वार्तामा सहभागिता जनाउने छन् र फिल्मसँग जोडिएका अनुभव तथा रोचक प्रसंगहरू बाँड्नेछन्।
हालसम्म आधिकारिक घोषणा नभए पनि चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ। स्मरण रहोस्, बाहुबलीको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो। यस विशेष अन्तर्वार्तामा फिल्म सुटिङका क्रममा कहिल्यै नसुनिएका रोचक कथाहरू पनि सार्वजनिक हुने जनाइएको छ।
बाहुबली सिरिजलाई एस.एस. राजामौलीले निर्देशन गरेका थिए। यो दुई भागमा रिलिज भएको थियो। पहिलो भागले विश्वव्यापी रूपमा करिब ६५० करोड रुपैयाँ कमाएको थियो भने दोस्रो भागले १७८८ करोड रुपैयाँभन्दा बढी कलेक्सन गरेको थियो। यो फिल्म भारतमा अहिलेसम्मकै तेस्रो सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक हो।
फिल्ममा प्रभास र अनुष्का शेट्टीसँगै तमन्ना भाटिया, सत्यराज, राणा दग्गुबाती, राम्या कृष्णन लगायतका कलाकारले अभिनय गरेका थिए। संगीत एम.एम. किरावानीले दिएका थिए भने कथा भी. विजयेन्द्र प्रसादले लेखेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस