बिपी राजमार्ग दुई हप्तापछि पुनः सञ्चालनमा

असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएको बिपी राजमार्ग झण्डै दुई हप्तापछि पुनः सञ्चालनमा आएको छ। काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस राजमार्गको पुनः सञ्चालनसँगै यात्रुहरूको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।
भक्तपुर डिभिजन सडक कार्यालयका अनुसार कतिपय स्थानमा राजमार्ग एकतर्फी भने कतै दुईतर्फी सञ्चालन गराउन सम्भव भएको छ। सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरू, नेपाली सेना, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सक्रिय सहयोगमा यो मार्ग पुनः सञ्चालनमा आएको हो।
अविरल वर्षा र बाढीपहिरोले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ मङ्गलटारस्थित बोक्सीकुना र चौकीडाँडामा करिब दुई सय मिटर सडक बहाएको थियो। बाढीको प्रकोपबाट सिन्धुलीको नेपालथोकदेखि चौकीडाँडा क्षेत्रसम्म ठुलो क्षति पुगेको र २१ किलोमिटर लामो सडक खण्डमा १४ स्थानमा करिब आठ किलोमिटर सडक बगेको थियो। दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोट बेँसीमा दुई सय मिटर लगायत धेरै स्थानमा सडकमा ठूलो क्षति पुगेको छ।
अस्थायी संरचना निर्माण
राजमार्गको पुनः सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको छ। प्रमुख इन्जिनियर सुमन योगेशका अनुसार, बाढीले बगाएका पुल र कल्भर्टहरू तत्कालै मर्मत सम्भार गरेर सडक बगेका स्थानहरूमा खोलाको बहावलाई फर्काएर अस्थायी सडक निर्माण गरिएको छ। रोशी खोलाको बाढीले चौकीडाँडा देखि नेपालथोक सम्म बगाएका ठाउँहरूमा वैकल्पिक मार्ग र अस्थायी संरचना बनाइएको छ।
राजमार्ग अवरुद्ध हुँदा रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू बिचल्लीमा परेका थिए। यात्रुहरूलाई सुरक्षित स्थानमा लैजान नेपाली सेना, प्रहरी र स्थानीय तहले हेलिकप्टरमार्फत उद्धार कार्य गरेका थिए। बिपी राजमार्गको १६० किलोमिटर लामो खण्डमा सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किलोमिटर र काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ५० किलोमिटर खण्डमा बाढीले गम्भीर क्षति पुर्याएको थियो।
दीर्घकालीन मर्मतको आवश्यकता
बाढी र पहिरोले राजमार्गलाई वर्षेनी जोखिममा पार्दै आएको छ। यस राजमार्गको दीर्घकालीन मर्मत, जल निकास प्रणाली सुधार तथा संरचनागत सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। प्रमुख योगेशका अनुसार, हालसम्म दुई अर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ। राजमार्गको दीर्घकालीन मर्मत र पुनःनिर्माणका लागि विस्तृत योजना तयार गर्न सरकारसँग थप सहयोगको माग गरिएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ मा बिपी राजमार्गको निर्माण कार्य सुरु गरिएको थियो। धुलिखेलदेखि सिन्धुली हुँदै बर्दिबाससम्मको १६० किलोमिटर लामो यो सडकको निर्माण कार्य २०७२ साल असार १८ गते सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस