आज बेलुका बाट बीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन हुँदै, रातिमा यात्रा नगर्न आग्रह

काठमाडौं, असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग आज साँझदेखि ठूला सवारीसाधनका लागि पनि खुला भएको छ।
भक्तपुर सडक डिभिजन कार्यालयका अनुसार, पहिरोले क्षतिग्रस्त बनाएको राजमार्गमा नयाँ ट्र्याक तयार गरी केही दिनअघि साना सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको थियो। आजबाट भने ठूला सवारीसाधन सञ्चालनका लागि पनि अनुमति प्रदान गरिएको छ।
भक्तपुर सडक डिभिजनका अनुसार, राजमार्गमा अवरोध सिर्जना गर्दै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन सोमबार साँझसम्म सुधार भइसकेकोले अब ठूला सवारीसाधनलाई पनि सञ्चालन गर्न सकिनेछ। योसँगै अब सो राजमार्गमा अनुमति प्राप्त सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ।
तथापि, डिभिजन कार्यालयले क्षतिग्रस्त राजमार्ग क्षेत्रमा अझै पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसकारण रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरिएको छ।
काभ्रेको ८ किलोमिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त
सडक डिभिजन कार्यालयका अनुसार, काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डसम्मको झण्डै ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पहिरो र कटानका कारण उक्त सडक बगाएपछि यातायात अवरुद्ध भएको थियो। वैकल्पिक मार्गको व्यवस्था गरी साना सवारीसाधन चलाउने अनुमति भए पनि ठूला सवारीसाधनको सञ्चालनका लागि ट्र्याक थप सुधार गर्नुपर्ने देखिएको थियो।
निरन्तर अनुगमन र मर्मत
वर्षा र पहिरोको क्षति पुनःस्थापनाका लागि सडक डिभिजनको टोलीले निरन्तर अनुगमन र मर्मत कार्य गरिरहेको छ। पहिरोको जोखिम कायमै रहेकाले अस्थायी व्यवस्थापनमार्फत यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न प्रयास भइरहेको डिभिजनले जनाएको छ। सतर्कता अपनाउन सुझाव राजमार्ग खुलेसँगै यात्रुहरूलाई दिनको समयमा यात्रा गर्न र सम्भावित जोखिमलाई ध्यानमा राखी सवारीसाधनको गति न्यून राख्न पनि डिभिजन कार्यालयले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस