धनकुटामा अशक्त व्यक्तिहरू लाई गाउँमै पुगेर नागरिकता वितरण
धनकुटा – जिल्ला प्रशासन कार्यालय धनकुटाले शनिबार साँगुरीगढी गाउँपालिका-९ चाँदी बजारमा विशेष अभियान अन्तर्गत अशक्त व्यक्तिहरूलाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ। यो कार्यक्रमले ग्रामीण भेगका अशक्त नागरिकहरूलाई कानूनी पहिचान दिलाउन र उनीहरूको सामाजिक सुरक्षामा सहजता ल्याउने लक्ष्य लिएको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गाउँपालिका अध्यक्ष जितेन्द्र राई, र स्थानीय जनप्रतिनिधिहरूको टोलीले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए। यस क्रममा ५ जना अशक्त नागरिकहरूलाई नागरिकता प्रदान गरिएको छ। कार्यक्रमले गाउँमै पुगेर यस्तो सेवा उपलब्ध गराएको हुँदा, यसले दुर्गम क्षेत्रका अशक्त नागरिकहरूलाई अत्यावश्यक कानूनी पहिचान प्रदान गर्न ठुलो मद्दत पुर्याएको छ।
नागरिकता प्राप्त गर्नेहरू
नागरिकता प्राप्त गर्नेहरूमा ५३ वर्षीया सरिमाया राई, ५० वर्षीया इलाश राई, ४५ वर्षीया पूर्णमाया सार्की, ५७ वर्षीय राइ बहादुर राई, र ५४ वर्षीया लिलामाया राई रहेका छन्। यी व्यक्तिहरूमा शारीरिक र मानसिक समस्याहरू रहेका छन्। सरिमाया र इलाश शारीरिक अशक्तता सँग जुधिरहेका छन् भने पूर्णमाया सार्की र लिलामाया राईले मनो सामाजिक समस्याको सामना गरिरहेका छन्।
राइबहादुर राई पनि शारीरिक अशक्तता भएका व्यक्ति हुन्। उनीहरूको नागरिकता पाउने प्रक्रियामा देखिएका अवरोधलाई चिर्दै, जिल्ला प्रशासनले यस्ता नागरिकहरूलाई गाउँमै पुगेर सेवा दिन सफल भएको हो।
नागरिकता प्राप्त गरेपछि यी व्यक्तिहरूले सरकारबाट प्रदान गरिने विभिन्न सामाजिक सुरक्षा योजनाहरूमा सहभागी हुन पाउनेछन्। विशेष गरी, अपांगता भएका व्यक्तिहरूका लागि उपलब्ध अपांगता परिचय पत्र पाउने र त्यसको आधारमा मासिक भत्ता लगायतका विभिन्न सेवा-सुविधाहरू लिन पाउने छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “नागरिकताको अभावले गर्दा धेरै नागरिकहरूले राज्यबाट प्रदान गरिने विभिन्न सुविधाहरू प्राप्त गर्न सकेका थिएनन्। नागरिकता वितरण पछि उनीहरू अब सामाजिक सुरक्षामा जोडिनेछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस