उपमेयरलाई छोडेर वडाध्यक्षलाई कार्यवाहक दिने मेयर साम्पाङको निर्णयमा अदालतको रोक

धरानका स्वतन्त्र मेयर हर्क साम्पाङको उपमेयर अइन्द्रविक्रम बेघासँगको पुरानो विवादले पुनः नयाँ मोड लिएको छ। मेयर साम्पाङले धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी सुम्पने निर्णय गरेको केही दिनपछि उच्च अदालत विराटनगरले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
विवादको सुरूवात मेयर हर्क साम्पाङले असोज २३ गते वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिन पत्राचार गरेका थिए। साम्पाङ असोज २८ मा बेलायत प्रस्थान गरेपछि उक्त निर्णय सार्वजनिक भयो। धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले यस कदमलाई ऐन कानुन विपरित भन्दै विरोध जनाए। उपमेयर बेघाले कात्तिक ४ गते अदालतमा रिट दायर गरी मेयर साम्पाङको निर्णय खारेज गराउन माग गरे।
उपमेयरको दाबी अनुसार, धरान नगरपालिकामा उपमेयरको उपस्थिति हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी सुम्पनु कानुनसम्मत छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार उपमेयर नगर प्रमुखको अनुपस्थितिमा कार्यवाहक मेयरको भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ, तर मेयर साम्पाङले आफ्नो निर्णयले उक्त कानुनी प्रावधानको उल्लंघन गरेको उपमेयर बेघाको आरोप छ।
अदालतको आदेश उपमेयर बेघाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयर साम्पाङको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। अदालतले कात्तिक ६ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन भनेको छ। आदेशमा अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ को आधारमा मेयरको निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ।
मेयर र उपमेयरबीचको सम्बन्ध मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको सम्बन्ध पछिल्लो ६ महिनायता बिग्रिएको छ। सुरुका दुई वर्षमा दुवै जनाले मिलेर काम गरेका थिए, तर पछिल्लो समय कार्यपालिका बैठकहरूमा भनाभन बढ्दै गएको छ। दुवैले सामाजिक सञ्जालमा एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने क्रम बढेको छ।
धरानका मेयर हर्क साम्पाङले राजनीतिक दलहरूलाई नगरपालिकाको काममा हस्तक्षेप गर्न नदिने अडान लिएका थिए। यसैकारण माओवादी केन्द्रबाट निर्वाचित उपमेयर बेघाले पनि सुरुमा मेयरलाई समर्थन गरेका थिए। तर, पछिल्लो समय मेयरले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा उपमेयरको आलोचना गर्न थालेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपन आएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस