Techie IT
२०८३ जेष्ठ ३, आइतबार

सम्पत्ति कर वृद्धि नगर्न पोखरिया नगरपालिकालाई ज्ञापनपत्र


राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सम्पत्ति कर वृद्धि नगर्न माग गर्दै पोखरिया नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य नेजामुद्दिन शमानीसहित गएको टोलीले आज पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानलाई ज्ञापनपत्र बुझाउँदै सम्पत्ति कर वृद्धि गर्ने निर्णय कार्यान्वयन नगराउन माग गरेका हुन् । केन्द्रीय सदस्य शमानीले नगरपालिकाले सम्पत्ति कर वृद्धि गर्ने निर्णय अबिलम्व फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । ‘‘यहाँ सेवा विस्तार नगरी पूर्व नगर प्रमुखको पालामा सम्पत्ति कर लगाइयो । रु तीन सय लाग्ने दस्तुर अहिले एक हजार पाँच सयदेखि पाँच हजारसम्म बढाइएको छ ।’’ ज्ञापनपत्रमा भनिएको छ, ‘‘देशमा आर्थिक सङ्कट भएको बेलामा सम्पत्ति कर बढाउनु उपयुक्त हुँदैन ।’’

केन्द्रीय सदस्य शमानीसहितको टोलीले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा सात बुँदे माग समावेश गरिएको छ । सो ज्ञापनपत्रमा कर्मचारीलाई समयमा  तलब उपलब्ध गराउनुपर्ने, नगरपालिकाभित्र भइरहेको ठगी धन्दा बन्द गर्नुपर्ने लगायतका माग छन् । निर्माण सम्पन्न गरेका कम्पनीलाई भुक्तानी दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । नगर विस्तारमा जग्गाधनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले भूमिसुधार तथा मालपोत कार्यालयको सिफारिसअनुसार नै नगरपरिषद्मा छलफल गरेर सम्पत्ति कर वृद्धि गरेको बताउनुभयो । ‘‘मालपोत कार्यालयको सिफारिसलाई नगर परिषद्को बैठकबाट पारित गरेर सम्पत्ति कर वृद्धि गरिएको हो’’, उहाँले भन्नुभयो, ‘‘उहाँहरुले लगाउनुभएको कतिपय माग यथोचित छैन ।’’



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट