Techie IT
२०८२ वैशाख २८, आइतबार

दमौली बजारमा सडक विस्तारको काम तिव्र


निर्माणाधीन मुग्लिन-पोखरा सडक योजना अन्तर्गत दमौली बजारमा सडक विस्तारले गति लिएको छ। अन्य स्थानमा सडक विस्तारको काम अघि बढिसके पनि तनहुँको सदरमुकाम दमौली बजारमा काम ढिलो सुरु भएको थियो। 

तर, हाल डिजाईन सेन्टरको मापदण्ड अनुसार २३/२३ मिटर चौडा सडक निर्माणको कामले तिव्रता पाएको छ।

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजार खण्डमा नाला निर्माणको काम पनि सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार नयाँ बिजुलीका पोल गाडिएपछि सडकको आधार तय भएको छ। सडक बिन्दुबाट १२.२५ मिटरमा नाला र बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिनेछ। पाण्डेले भने, “दसैं बिदा सकिएसँगै कामले अझै गति लिएको छ, जुन कार्य अघिल्लो समयमा अपेक्षाकृत ढिलो भइरहेको थियो।”

सडक विस्तारका क्रममा दमौली बजारका करिब ७४ घरटहरा, जसमा जिल्ला प्रहरी कार्यालयको गेट र दुर्गा मन्दिरजस्ता संरचना पनि पर्दछन्, भत्काइने योजना बनाइएको छ। केही लाभग्राहीले पहिलो किस्ता स्वरूप क्षतिपूर्ति रकम पनि बुझिसकेका छन्।

सडक विस्तार योजना अनुसार पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी ५५ किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ भने हालसम्म ६३ किलोमिटरको काम सम्पन्न भइसकेको छ। 

पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण भएका छन् भने दुई ठूला पुल र १०३ वटा कल्भर्टहरूको निर्माण सकिएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलका २०० पाइल निर्माण भइसकेका छन्, र अब स्ल्याब र बिम निर्माणको चरणमा पुगेको पाण्डेले जानकारी दिए।

सडक निर्माणसँगै भूक्षय रोकथामका लागि बायो इन्जिनियरिङ पनि गरिएको छ। यस क्रममा पहिरो जस्ता समस्याका कारण केही ठाउँमा काममा अवरोध पुगेको भए पनि अबका चरणमा यस्तो अवरोध नआउने विश्वास लिइएको छ। 

यो आयोजनाका लागि आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ २ अर्ब ९९ करोड बजेट विनियोजन भएकोमा २ अर्ब १४ करोड रकम खर्च भएको बताइएको छ।

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको निर्माण सम्झौता २०७७ माघ १७ गते भएको थियो र २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट