विश्वकप लिग-२ : जितको खोजीमा नेपाल र स्कटल्याण्ड आमनेसामने
अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत मंगलबार राति नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने यस खेलमा नेपाल जित हात पार्दै सिरिजमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।
नेपालले सिरिजको पहिलो खेलमा अमेरिका विरुद्ध तीन विकेटले हार बेहोरेको थियो, जबकि स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराउँदै पहिलो जित हासिल गरिसकेको छ। नेपाल र स्कटल्याण्ड बीचको खेल नेपाली समय अनुसार आज राति ९:१५ बजे सुरु हुनेछ।
अहिलेसम्म नेपाल र स्कटल्याण्डबीच ६ एक दिवसीय खेल भएका छन्, जसमा दुबै टोलीले ३-३ खेलमा जित हात पारेका छन्।
लिग-२ को यो सिरिज नेपालले सन् २०२७ सम्म नौ त्रिकोणात्मक सिरिज खेल्दै पूरा गर्नेछ, जसमा प्रत्येक सिरिजमा चार एकदिवसीय खेल हुनेछ।
अंकतालिकामा नेपालले नौ खेलमा एक जित, सात हार, र एक रद्दसहित तीन अंक जोडेको छ र सातौँ स्थानमा छ। स्कटल्याण्ड भने आठ खेलमा पाँच जित र दुई हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ।
क्यानडाले १२ खेलमा आठ जितसहित १६ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ। विश्वकप लिग-२ मा नेपाल, स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान, र युएई सहभागी छन्, जसले आ–आफ्नो स्थान बलियो बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस