रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार

पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोपमा थप अनुसन्धान गर्न रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनको घटनामा संलग्न रहेको आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।
लामिछानेलाई सो सहकारीको रकमको अपचलनबारे अनुसन्धान गर्ने क्रममा उनका बयानहरू पनि लिइएको छ। कार्तिक १४ मा उनले दिएको बयान प्रमाणित गर्ने प्रक्रिया पूरा भएको र अब बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्दामा उनलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन्। उनले भने, “कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ।”
अनुसन्धानका क्रममा, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा २०७७ चैत १८ मा २ करोड रुपैयाँको ऋण प्रवाह गरिएको भेटिएको छ। यो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरिएको थाहा भएको छ।
यसअघि, गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो, तर लामिछानेलाई प्रतिवादी नबनाएकोमा उठेका प्रश्नका कारण हालको थप अनुसन्धान आवश्यक भएको हो।
लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सागर केसीले सदर गरेका छन्, सागर अहिले फरार रहेको बताइएको छ। सहकारी ऐन–२०७४ का अनुसार, यदि कुनै व्यक्तिले झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएको प्रमाणित भएमा कानुनी कारबाही हुने व्यवस्था छ।
तपाईको प्रतिक्रिया दिनुहोस