तनहुँ जलविद्युत्: तिहारमा पनि दिनरात काम, ६२ प्रतिशत पूरा

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका बेला पनि तनहुँ जलविद्युत् आयोजनाले आफ्नो निर्माण कार्यलाई रोक्न नदिइकन निरन्तरता दिएको छ। तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन यो जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको यस आयोजनाले निर्धारित समयमा काम पूरा गर्न तिहारको छुट्टीको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ।
आयोजना कार्यालयका अनुसार, निर्माण कार्य दिनरात दुई सिफ्टमा बिभाजन गरी गरिरहेको छ। पहिलो चरणअन्तर्गत बाँध निर्माणका लागि जग हाल्ने काम जारी छ भने दोस्रो चरणमा मुख्य सुरुङको कङ्क्रिट लाइनिङ, पावर हाउस (विद्युत्गृह) को निर्माण लगायतका काम तीव्र गतिमा अगाडि बढिरहेका छन्।
आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिएअनुसार, आयोजनामा दुई सय जना जनशक्ति परिचालन गरेर काम भइरहेको छ। दसैंमा जस्तै तिहारमा पनि काम रोकिनु नदिन निर्णय गरिएको थियो।
चाडपर्वको अवसरमा केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिएर पुनः सिफ्टमा समायोजन गरिएको छ भने अधिकांश कामदारले भने पर्वको बीचमा पनि काम गरिरहेका छन्। आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार, तीन चरणमा बिभाजित यस आयोजनामध्ये अहिले दुईवटा चरणमा निरन्तर काम भइरहेको छ र निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा समेत कामलाई रोकिएको छैन।
आयोजनाको चरणबद्ध निर्माण
१. चरण–१ (बाँध निर्माण):
पहिलो चरणमा १४० मिटर अग्लो बाँध निर्माण भइरहेको छ। यस कार्यका लागि भियतनामको सोङ्ग दा कर्पोरेसन र कालिका कन्सट्रक्सन प्रालिले सहकार्य गरिरहेका छन्।
२. चरण–२ (पावर हाउस निर्माण):
पावर हाउस र सुरुङ निर्माणका कामहरू चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस चरणमा भूमिगत विद्युत्गृह खन्ने काम सकिएको छ र अहिले कङ्क्रिट लाइनिङ, स्वीजयार्ड निर्माण, पेनस्टक, र विभिन्न उपकरणहरू जडानका काम भइरहेका छन्।
आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको जानकारी आयोजना प्रमुख श्यामजी भण्डारीले दिएका छन्।
वित्तीय व्यवस्थापन र लगानी
तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि लगानी संरचना ठूला अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा गरिएको छ। आयोजना लागत करिब ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमा एसियाली विकास बैंक (एडीबी)ले १५ करोड डलर, जापानको जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग)ले १८ करोड ४० लाख डलर, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख डलर, र बाँकी नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलरको लगानी गरेका छन्।
तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा एक महत्वपूर्ण योगदानका रूपमा रहेको छ। यस आयोजनाले केवल विद्युत् आपूर्ति बढाउने मात्र नभई ग्रामीण विद्युतीकरणमा समेत योगदान पुर्याउनेछ। साथै, आयोजना पूरा भएपछि नेपालको ऊर्जा आत्मनिर्भरता बढ्दै जाने र ग्रामीण क्षेत्रमा विद्युतीकरणको विस्तार हुने आशा गरिएको छ।
निर्धारित समयमा आयोजना सम्पन्न हुने हो भने यसले स्थानीय रोजगार, पर्यटन, र ग्रामीण पूर्वाधारको विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस