इन्टरपोलको रेड नोटिसमा फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएकी फरार प्रतिवादी बिनु शाक्यलाई कम्बोडियाबाट पक्राउ गरिएको छ। सिन्धुपाल्चोक मान्खा निवासी शाक्यलाई NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको छ ।
शाक्यले सिंगापुरमा रोजगारीको प्रलोभन देखाई ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा फरार थिइन्। उनको साथमा उदयपुर त्रियुगा नगरपालिका–१० निवासी सुजन आचार्य पनि रेड नोटिसको सूचीमा थिए। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाले उनीहरूको खोजी गर्न २०८० माघ १९ गते रेड नोटिस जारी गरेको थियो।
अन्तर्राष्ट्रिय समन्वयमा खोजतलास गरी २०८१ असोज १ गते कम्बोडियाबाट दुवैलाई पक्राउ गरिएको थियो। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएको थियो भने, हालै बिनु शाक्यलाई पनि नेपाल ल्याई कानूनी कारवाहीका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस