सिमकोट विमानस्थलमा हवाई उडान पुनः सुरु

हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनको अवरोधपछि हवाई उडान पुनः सुरु भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि उडान हुन सकेको थिएन।
सिमकोट विमानस्थल कार्यालयका अनुसार, नेपालगन्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वका नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गर्न सकिएको हो। सोमबार नेपालगञ्जबाट सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका छन्।
विमानस्थलका अनुसार, आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक-एक पटक उडान भरेका छन्। दुवै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका छन्। यद्यपि, अन्य एयरलाइन्स जस्तै सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न सकेका छैनन्।
नेपालगञ्जबाट उडान गर्दै आएका जहाजहरूले आफ्नो तालिकाअनुसार हुम्लामा उडान गर्दै आएका छन्। मङ्गलबारका लागि पनि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्ने योजना बनाएको छ।
दसैं र तिहारका पर्व सकिएपछि सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप क्रमशः बढ्दै गएको छ। यद्यपि, नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै छैन, तर हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ। सीता एयर र समिट एयरले भने आजको लागि उडान नभरेको जानकारी प्राप्त भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस