Techie IT
२०८२ मंसिर १, सोमबार

प्रधानमन्त्री ट्रुडो द्वारा हिन्दू मन्दिरमा भएको हिंसाको निन्दा: खालिस्तानी अतिवादको मुद्दा पुनः चुलियो


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । टोरन्टोबाट लगभग ५० किलोमिटर उत्तर पश्चिममा रहेको ब्राम्पटन सहरमा यो घटना भएको थियो ।

स्थानीय समुदायका मानिसहरूले प्रदर्शन गर्दै गर्दा मन्दिर बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। पील रिजनल पुलिसका प्रवक्ताका अनुसार, अहिलेसम्म हिंसात्मक कार्यमा संलग्न भएका कसैलाई पनि पक्राउ गरिएको छैन। प्रहरीले हिंसामा कुनै विशेष समूहको संलग्नता रहेको आरोप लगाउन अस्वीकार गरेका छन्।

प्रधानमन्त्री ट्रुडोले आफ्नो भनाइमा भनेका छन्, "ब्रैम्पटनस्थित हिन्दू सभा मन्दिरमा आज भएको हिंसात्मक कार्य अस्वीकार्य छ। प्रत्येक क्यानेडियाली लाई आफ्नो विश्वासलाई स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ।" ट्रुडोले यो घटना क्यानाडामा धर्म र विश्वासको स्वतन्त्रताको महत्वपूर्ण सिद्धान्तको उल्लङ्घन भएको जनाउँदै निन्दा गरेका छन्।

टुडोको लिबरल पार्टीका सासंद चन्द्र आर्यले यो हिंसाको लागि खालिस्तानी समर्थकहरूलाई जिम्मेवार ठहराएका छन्। उनले भनेका छन्, "क्यानडाका खालिस्तानी अतिवादीहरूले आज सुरक्षाको सीमा पार गरेका छन्।" आर्यले ब्राम्पटनको हिन्दू सभा मन्दिर परिसरमा क्यानेडियाली हिन्दू भक्तजनमाथि खालिस्तानीहरूको आक्रमणले क्यानाडामा खालिस्तानी हिंसात्मक अतिवाद कति गहिरो र निर्लज्ज भएको देखाउँछ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा खालिस्तानको पहेँलो झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिहरूसँग भिडन्त गरिरहेको देखिन्छ। यो घटना क्यानाडामा भारत र खालिस्तानी समर्थकहरूको बीचको तनावको एउटा अर्को संकेत हो।

यता, ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानेडियाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारले षडयन्त्र गरेको आरोप लगाएपछि क्यानडा र भारतबीचको सम्बन्धमा खटपट आएको छ। निज्जरको हत्यापछि क्यानडाले भारतमाथि क्यानडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी व्यापक अभियान चलाएको आरोप लगाएको छ।

प्रधानमन्त्री ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले क्यानडाको सार्वभौमिकताको उल्लङ्घन गरेको आरोप लगाएका थिए । यो आरोप भारतले निरन्तर अस्वीकार गर्दै आएको छ। दिल्ली र ओटावाले यसै महिनाको सुरुमा एक अर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । यसले द्विपक्षीय सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट