राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संस्थापक महामन्त्री मुकुल ढकाल निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ। यो निर्णय रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले गरेको हो।
पार्टीले ढकाललाई दुईपटक स्पष्टीकरण सोधेको थियो। सचिवालय र केन्द्रीय समिति बैठकले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो। जवाफमा ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउँदै उनलाई 'ठग' भनेका थिए। पार्टी नेताहरूका अनुसार ढकालको जवाफ स्पष्टीकरणभन्दा पनि कुण्ठा व्यक्त गरेको जस्तो देखियो।
यसअघि २५ असारमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाएको थियो। त्यस निर्णय उपर ३५ दिनभित्र पुनरावलोकनको अवसर दिइए पनि ढकालले पुनरावेदन गरेनन्।
ढकालले आफूमाथिको कारबाही वैधानिक नभएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले रास्वपाको केन्द्रीय समिति अद्यावधिक नगर्न आयोगसँग आग्रह गरेका छन्। हालसम्म आयोगले यस निवेदनमा कुनै निर्णय गरेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस