Techie IT
२०८२ भाद्र १०, मंगलबार

नागार्जुनका मेयरमाथि पद दुरुपयोग र अकुत सम्पत्ति आर्जनको आरोपमा छानबिन शुरु

मेयर बस्नेतले राजनीतिक प्रतिशोधका कारण आफ्नो विरुद्ध उजुरीहरू परेको बताएका छन्। उनले भनाइमा भोट माग्न नपर्ने गरी लोकप्रिय मतसाथ दोस्रो कार्यकाल जितेपछि विभिन्न निकायमा उजुरी हाल्ने क्रम बढेको बताए।


नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। 

बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३, २०८० पुस १, र २०८१ वैशाख १६ गते गरी छुट्टाछुट्टै उजुरीहरू परेको जानकारी आयोगको उच्च स्रोतले दिएको छ।

बस्नेतमाथि लागेका मुख्य आरोपहरू
१. पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका बस्नेतले पदको दुरुपयोग गरी निजी सम्पत्ति आर्जन गरेको आरोप छ। उनले नागार्जुन नगरपालिका–५ मा करिब १० करोड रुपैयाँ बराबरको निजी निवास निर्माण गरेको र वाफलस्थित चक्रपथमा करिब ५० करोड रुपैयाँ मूल्य बराबरको सपिङ मल निर्माण गरिरहेको उजुरीमा उल्लेख छ। 

उनले गैरकानुनी सम्पत्ति जोडेको भन्दै आरोप लगाइएको भए पनि बस्नेतले भने बैकबाट २० करोड रुपैयाँ ऋण लिएर सपिङ मलको भवन निर्माण गरिरहेको दाबी गरेका छन्।

२. गैर कानुनी सम्पत्तिबाट प्राडो गाडी खरिद
उजुरीमा बस्नेतले गैरकानुनी सम्पत्तिबाट ५ करोड रुपैयाँको प्राडो गाडी खरिद गरेको आरोप लगाइएको छ। उनले भने प्रभु बैंकबाट ऋण लिएर गाडी खरिद गरेको र त्यसको किस्ता तिरिरहेको दाबी गरेका छन्।

३. सरकारी जग्गा मिचेको आरोप
बस्नेत विरुद्धको अर्को उजुरीमा उनले आर्थिक लाभका लागि पद्म कोलोनी निर्माणको स्वीकृति दिँदा सरकारी जग्गा मिच्न सहयोग गरेको भनिएको छ। नागार्जुन नगरपालिका–५ र ६ स्थित विशाल आवास योजना (पद्म कोलोनी)का विभिन्न फेजहरू निर्माण गर्दा यस्तो भएको आरोप छ। 

बस्नेतले भने पद्म कोलोनीको निर्माण २०५२ सालमै सुरु भएकाले आफू मेयर भएर मिचेको आरोप निराधार भएको बताउँछन्।

४. सम्पत्ति सुद्धिकरणमा खेलकुद क्षेत्रमा प्रयोग
बस्नेतमाथि मेयर हुँदा आर्जन गरेको अकुत सम्पत्तिलाई खेलकुद क्षेत्रमा प्रयोग गरी सुद्धिकरण गरेको भनिएको छ। नेपाल क्रिकेट संघलाई चन्दा दिएर विदेश भ्रमण गरेको, स्नूकर, नेटबल, र टेबल टेनिसजस्ता खेल सम्बन्धित संस्थाहरूलाई सहयोग गरी विदेश भ्रमणमा गएको आरोप छ। उनले भने नगरपालिकाको निर्णय अनुसार खेल क्षेत्रलाई सहयोग गरिएको र विदेश भ्रमण पनि प्रक्रिया पुर्याएरै गरेको बताए।

५. श्रीमतीलाई नगरपालिकामा काज झिकाउने कार्य
उजुरीमा बस्नेतमाथि श्रीमती उर्मिला बस्नेतलाई स्वार्थको द्वन्द्व हुने गरी नगरपालिकामा काजमा सरुवा गरेको भनिएको छ। बस्नेतले भने श्रीमतीलाई अवकाश हुनु तीन महिना अघि काजमा झिकाइएको र त्यसमा कुनै अनियमितता नभएको दाबी गरेका छन्।

६. खानेपानी र सार्वजनिक सम्पत्तिको दुरुपयोग
बस्नेतमाथि खानेपानी आयोजनामा पदको दुरुपयोग गरी समुदायमा पानीको हाहाकारको अवस्थामा निजी कम्पनी खोलेर पानीको व्यापार गरेको आरोप पनि छ। वडामा स्पार्कलिङ पिउने पानी उद्योग खोलेर मासिक लाखौंको कमाइ गरेको भनिएको छ।

७. सार्वजनिक जग्गाको अनधिकृत उपयोग
उजुरीमा उनले धार्मिक र सांस्कृतिक सम्पदाहरूलाई मिच्दै ठुला आवास योजनामा पार्न सिफारिस गरेको आरोप पनि छ। गाईरीधारा सामुदायिक वन वरपर अचल सम्पत्ति जोडेर सार्वजनिक जग्गामा आफ्नो पहुँच बढाएको आरोप छ।

बस्नेतको जवाफ
मेयर बस्नेतले राजनीतिक प्रतिशोधका कारण आफ्नो विरुद्ध उजुरीहरू परेको बताएका छन्। उनले भनाइमा भोट माग्न नपर्ने गरी लोकप्रिय मतसाथ दोस्रो कार्यकाल जितेपछि विभिन्न निकायमा उजुरी हाल्ने क्रम बढेको बताए। उनका अनुसार ३०० भन्दा बढी उजुरी परिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट