मोरङमा दुई नाबालिकाको रहस्यमय मृत्यु, आमा फरार
भाद्र १५, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको एक केरा बगानभित्र दुई नाबालिकाको शव फेला परेको छ। घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले हत्याको आशंका गरेको छ।
मृतक १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन्। उनीहरुको शव आज बिहान साढे चार बजे स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र भेटिएको हो।
प्रहरीका अनुसार, मृतक बालिकाकी आमा २९ वर्षीया अस्मिता न्यौपाने घटनापछि सम्पर्कविहीन छिन्। शुक्रबार साँझ अर्जुन र अस्मिताबीच विवाद भएको थियो। विवादपछि अस्मिता छोरीहरुलाई लिएर घरबाट निस्किएकी थिइन्।
घटनास्थलबाट कीटनाशक औषधिको बट्टा फेला परेको छ। बालिकाको शवमा कुनै बाह्य चोट पटक नदेखिए पनि प्रहरीले विष सेवनबाट मृत्यु भएको हुन सक्ने आशंका गरेको छ।
मृतक बालिकाका बुवा अर्जुन कार्की हाल प्रहरीको सम्पर्कमा छन्। प्रहरीले अस्मिता न्यौपानेको खोजी तीव्र पारेको छ भने घटनाको थप अनुसन्धान जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस