Techie IT
२०८२ मंसिर ३, बुधबार

भियतनाममा ‘यागी’ तुफानले ६० जनाभन्दा बढीको मृत्यु, १३ जना बेपत्ता


भियतनाममा ‘यागी’ नामक शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको ज्यान लिएको छ। तुफानले देशभर ठूलो क्षति पुर्याउँदै फुथोक प्रान्तको फोङचाउ पुल भत्काएको छ, जसका कारण सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता भएका छन्। यस विनाशकारी तुफानमा २४० भन्दा बढी मानिसहरू घाइते भएका छन्, र धेरै क्षेत्रका विद्यालयहरू बन्द गर्नुपरेको छ।

उत्तरी क्षेत्रको जनजीवनलाई अस्तव्यस्त बनाएको तुफानले ठाउँ–ठाउँमा बाढी र पहिरो ल्याएको छ, जसले सडकहरू अवरुद्ध गरेको छ। सयौं घरहरू उजाडिएका छन्, र विद्युत आपूर्ति बन्द हुँदा १५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

‘यागी’ तुफानलाई यसको शक्तिशाली प्रभावका कारण ‘सुपर टाइफुन’ भनेर पनि चिनाइएको छ। यो तुफान शनिबार भियतनामको भूमिमा प्रवेश गरेको थियो। २०३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिको यो तुफान भियतनाममा तीन दशकपछि देखिएको सबैभन्दा शक्तिशाली तुफान भएको बताइएको छ।

तुफानको कारण रेड नदीमाथिको ३७५ मिटर लामो पुलको आधा भाग भत्किएको छ। एक भिडियोमा पुलमा गुडिरहेका लरी, कार, र स्कुटरहरू नदीमा खसिरहेको देख्न सकिन्छ। भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले ती जनाको उद्धार गरिएको र १३ जना अझै हराइरहेको जानकारी दिएका छन्।

यागी तुफानले भियतनाम मात्र होइन, चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको छ। चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्तीहरू तुफानबाट विशेष रूपमा प्रभावित भएका छन्। दक्षिणी चीनका सहरहरूमा विद्यालयहरू बन्द गरिएका थिए, र हवाई उडानहरू पनि रद्द गरिएका थिए। हाल चीनमा तुफानको असर कम भएपछि पुनर्स्थापनाको काम जारी छ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार, यागी तुफान दक्षिणी चीन सागर पार गर्दै पश्चिमी चीनको हाइनान हुँदै गुआङडोङ प्रान्तमा पुगेको थियो र त्यसपछि भियतनाममा प्रवेश गरेको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट