बजेट अभावले डोटी जिल्ला अस्पतालको भवन निर्माणमा विलम्ब
बजेट अभावका कारण डोटी जिल्ला अस्पतालको भवन निर्माण कार्यमा ढिलाइ भएको छ। २५ शय्याको यो अस्पताललाई ५० शय्यामा विस्तार गर्ने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण कार्य सुरु भएको भए पनि हालसम्म यो पूरा हुन सकेको छैन ।
सङ्घीय विशेष अनुदानबाट २०७७/७८ मा बजेट विनियोजन गरी २०७७ फागुन ७ गते ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग रु १० करोड २७ लाखमा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ फागुनसम्म भवन निर्माण पूरा गर्नुपर्ने थियो । तर कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्म म्याद थप गरिएको थियो। हालसम्म भवनको भौतिक प्रगति ९२.७५ प्रतिशत मात्रै पुगेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुजितकुमार मण्डलका अनुसार, निर्माण व्यवसायीलाई रु ८ करोड ६५ लाख भुक्तानी गरिसके पनि चालू आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बजेट व्यवस्थापनका लागि धाए पनि अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको बताएका छन् ।
भवन निर्माण नपुग्दा अस्पतालका सेवा प्रभावित भइरहेको छ । डा. मण्डलका अनुसार, भवन अभावका कारण बाल पोषण गृह, स्तनपान कक्ष, शल्यक्रिया कक्षलगायतको व्यवस्था गर्न नसकेको छ ।
यसले गर्दा अस्पतालका सेवा प्रभावित भएका छन् भने स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा असुविधा बढेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस