Techie IT
२०८२ फागुन १४, बिहीबार

उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन आदेश


काठमाडौं । मोरङ जिल्ला अदालतले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई सहकारीको रकम हिनामिनाको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, आदेशपछि रौनियारलाई कारागार चलान गरिएको छ।

रौनियारले बचतकर्ताहरूको जम्मा गरेको रकम अपचलन गरेको आरोपमा सहकारीको कार्यालय बन्द गरी फरार भएका थिए । उनी माघ १४ गते अदालतमा हाजिर भएका थिए, जहाँ उनको बयान लिन तीन दिन लागेको थियो ।

बयान सकिएपछि, वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सम्पन्न भएको थियो । परिणामस्वरूप उनलाई थुनामा पठाउने आदेश भएको हो ।

रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता गरिएको थियो । मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।

हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी पक्राउ परेका थिए।  उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अञ्जला कोइराला र वडाध्यक्ष खवासले क्रमशः १० लाख र ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट