२०८१ भित्र सडक बालबालिकालाई सडकमुक्त गरिने: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६०औँ बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै, उनले सडकमा बस्नुपर्ने बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका छन्।
सन्देशमा ओलीले भने, "कतिपय बालबालिका सडक बालबालिकाका रूपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्। यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ सालभित्रै उनीहरूलाई सडकबाट मुक्त गर्ने अठोट गरेका छौँ।"
उनले बालबालिकाका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार लागिरहेको बताउँदै, बालमैत्री वातावरण बनाउन विभिन्न कदम चालिएको जानकारी दिए।
प्रधानमन्त्रीले ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ नाराका साथ मनाइएको बाल दिवसमा बालबालिकाका अधिकार र सुविधामा सुधार आवश्यक रहेको उल्लेख गरे। उनले कुपोषण र विद्यालय जानबाट वञ्चित बालबालिकाको समस्यालाई समाधान गर्न सरकारले गम्भीर रूपमा काम गर्ने बताए।
उनले बालबालिकाका लागि पोषणयुक्त खाना, न्यानो नाना, र गुणस्तरीय शिक्षा अनिवार्य रहेकोमा जोड दिँदै, गरिबीको रेखामुनि रहेका परिवारलाई रोजगारी उपलब्ध गराउने आश्वासन पनि दिए।
प्रधानमन्त्री ओलीले बालबालिका भविष्यका योग्य नागरिक बनाउनुपर्ने र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न बालबालिकामा लगानीको महत्त्वसमेत औंल्याए।
#KP_Oli #Primemnister_of_Nepal



तपाईको प्रतिक्रिया दिनुहोस