जेन-जी आन्दोलन : आशा, आक्रोश र घुसपैठको त्रास

नेपालको राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा बढ्दो भ्रष्टाचार, बेथिति र असमानताप्रति असन्तोष अब नयाँ पुस्ताले खुलेर प्रकट गर्न थालेका छन् । यसै सन्दर्भमा जेन-जी पुस्ताले काठमाडौंको माइतीघर मण्डलामा सोमबार गर्न लागेको प्रदर्शनले मुलुकमा नयाँ राजनीतिक संस्कृतिको संकेत दिएको छ।
यो प्रदर्शनलाई केबल एउटा आन्दोलन मात्र नभई, एउटा पुस्ताको असन्तुष्टिको आवाजका रूपमा लिन सकिन्छ। यतिबेला सामाजिक सञ्जालमै बढी सक्रिय देखिने युवाहरूले आफ्नो विचार सडकसम्म ल्याउन लागेका छन्। उनीहरूले “नेपो बेबी” नामक ट्रेन्डमार्फत नेताका छोराछोरीको विशेषाधिकारप्रति प्रश्न उठाएका छन्। यसरी आफ्ना विचारलाई डिजिटल प्लेटफर्मभन्दा बाहिर ल्याई भौतिक रूपमा देखाउन लाग्नु आफैंमा एक प्रकारको साहस हो।
तर, प्रशासन र सुरक्षा निकायले यस आन्दोलनलाई सामान्य रूपमा लिएको छैनन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले ‘एकीकृत सुरक्षा योजना’ बनाइसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागसम्म परिचालन हुने तयारी छ। सुरक्षाकर्मीहरूलाई भौतिक उपस्थिति मात्र होइन, सादा पोसाकमै परिचालन गरेर सम्भावित ‘घुसपैठ’ रोक्ने रणनीति बनाइएको छ। यसको अर्थ, आन्दोलन स्वतन्त्र भए पनि त्यसलाई अस्थिर बनाउन खोज्ने वा उग्र पार्ने शक्तिहरूप्रति प्रशासन सतर्क छ।
जेन-जीले भने सुरुवातमै शान्तिपूर्ण सन्देश दिन ‘प्रहरीलाई फूल दिने’ घोषणा गरेका छन्। तर, यसमा जोखिम नदेखिएको होइन। आन्दोलनमा नेतृत्वको अभाव, भीड व्यवस्थापनमा अनुभवको कमी र उग्रतापूर्ण भावनाले कतै अनपेक्षित घटनामा रूपान्तरण हुने आशंका व्यक्त गरिएको छ । यस्तैमा दुर्गा प्रसाईं जस्ता विवादास्पद पात्रले खुलेर समर्थन जनाउनु अर्को चुनौतीको विषय हो । विभिन्न घुस पैठले आन्दोलनलाई भिन्न मोडमा पुर्याउन सक्छ ।
‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी र्यालीलाई मेयर बालेनको समर्थन
यसैबीच, पूर्वप्रहरी अधिकारीहरू समेतले यो आन्दोलनलाई ‘चुनौतीपूर्ण’ ठहराएका छन्। समय (अफिस अवर), स्थान (माइतीघर–बानेश्वर मार्ग जस्तो संवेदनशील क्षेत्र), र नेतृत्वविहीन भिड व्यवस्थापनले गर्दा आन्दोलन चुनौतिपूर्णनै छ ।
युवा पुस्ताले भ्रष्टाचार, विलासी जीवनशैली र सामाजिक अन्यायविरुद्ध स्वर उठाउनु सकारात्मक हो। तर, यसलाई शान्तिपूर्ण, अनुशासित र विवेकपूर्ण ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । यदि आन्दोलन अराजक भयो भने, यसले जेन-जीले खोजेको सकारात्मक परिवर्तनभन्दा बढी उल्टो प्रभाव पार्न सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस